शुक्रबार, भाद्र १२, २०८३
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ७ हजार ४१५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म २३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको छ । तीमध्ये नेपाली सेनाका हेलिकोप्टरबाट २११ तथा निजी क्षेत्रका हेलिकोप्टरबाट २८ वटा उडान भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कामसमेत निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

तिब्बततर्फबाट भोटेकोसी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको छ । बाढीका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षति भएको छ ।

विपद्पछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ । घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहित स्वास्थ्य टोली खटाइएको छ ।

त्यसैगरी, बाढी प्रभावितका लागि नेपाली सेनाका ब्यारेकमा अस्थायी बसोबास, खानेकुरा, खानेपानी र औषधिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ

सिफारिस

ताजा समाचार

लोकप्रिय