काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
तत्काल परिचालन हुने उक्त सहयोगबाट प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै उद्धार र आवश्यक अन्य सहायता प्रदान गरिने संघले जनाएको छ।
रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसम्बन्धी कार्यलाई समन्वयात्मक रूपमा अघि बढाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।
स्रोत व्यवस्थापनका लागि कोषाध्यक्ष कृष्ण तिमिल्सिनाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ। साथै, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि मेडिकल टोली तथा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको छ।











