काठमाडौँ । भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिको विवरण थप भयावह बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ५३८ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन छन्।
शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणमा नवलपरासी पूर्वमा १३४, चितवनमा १२१, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको उल्लेख छ।
सम्पर्कविहीनमध्ये ५१७ विदेशी नागरिक र विदेशमा बस्ने नेपाल घुम्न आएका १२७ नेपाली रहेका छन्। साथै सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसहित रसुवा, नुवाकोट र मकवानपुरका नागरिक पनि सम्पर्कविहीन छन्। बाढीबाट ७३ जना घाइते भएको प्राधिकरणले जनाएको छ।











