सोमबार, भाद्र १५, २०८३
नुवाकोटमा बाढीबाट ५१ को मृत्यु, सयौँ बेपत्ता; सडक र पुलमा व्यापक क्षति

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा मानवीय क्षतिसँगै सडक, पुल, घर तथा सरकारी संरचनामा ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहानसम्म ५१ जनाको मृत्यु भएको र ४०५ जना बेपत्ता छन्।

बाढीबाट मृत्यु भएका ५१ जनाको शव फेला परे पनि सनाखत हुन बाँकी छ। ४० जना घाइते भएका छन्। प्रशासनले बेपत्ताको संख्या परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा कायम गरिएको जनाएको छ।

विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङका विभिन्न क्षेत्र बढी प्रभावित भएका छन्। जिल्लामा ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले आठ सरकारी कार्यालय, कृषि विकास बैंक, तीन जलविद्युत् गृह र चार विद्यालयमा क्षति पुर्‍याएको छ। १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको छ भने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

केन्द्रीय कारागार नुवाकोटको संरचनामा समेत क्षति पुगेको छ। केही भाग पुरिए पनि कारागारभित्र रहेका कैदीबन्दी सुरक्षित रहेको प्रशासनले जनाएको छ।

उद्धारतर्फ हालसम्म हेलिकप्टरबाट १ हजार ८२३ र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ। ७९१ जना विस्थापितलाई विभिन्न आश्रयस्थलमा राखिएको छ।

जोखिम अझै कायम रहेकाले प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय