सोमबार, भाद्र १५, २०८३
विपद्का बेला प्रचार होइन, समन्वयमा जोड दिन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी तथा विपद् प्रभावित क्षेत्रमा आफ्ना सांसदहरूको अनावश्यक उपस्थितिलाई निरुत्साहित गरेको छ।

प्रभावित क्षेत्रको स्थलगत भ्रमणका क्रममा केही सांसद तथा नेताहरूले खिचेका तस्बिर सामाजिक सञ्जालमा आएपछि त्यसको आलोचना भएको थियो। त्यसपछि सभापति रवि लामिछानेले पार्टीभित्र यस विषयमा चासो राख्दै आवश्यक निर्देशन दिएका हुन्।

आज शीर्ष नेताहरूसँग भएको छलफलमा लामिछानेले विपद्का क्रममा पार्टीले गरिरहेका कामको जानकारी लिएका थिए। उनले प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष रूपमा आवश्यक पर्ने कामबाहेक अन्य गतिविधिका लागि नजान नेताहरूलाई भनेका छन्।

रास्वपा सचेतक क्रान्तिशिखा धितालले पनि प्रभावित क्षेत्रका सांसदहरूलाई आवश्यकता अनुसार सम्बन्धित स्थानमा खटिन र अन्य सांसदलाई आफ्नो स्थानबाटै सहयोग तथा समन्वय गर्न आग्रह गरेकी छन्।

विपद्का दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेभन्दा उद्धार, राहत र समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय