काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर दुई चिनियाँ नेताको सन्देश सुनाएका हुन्। राजदूतका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री लीले बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।
राजदूत झाङले विपद्पछिको उद्धार र राहत कार्यमा चीन सरकारको सहयोग निरन्तर रहने बताएका छन्। उनले नेपाल एक्लै नरहेको र चीन नेपाल तथा नेपाली जनताको साथमा रहेको सन्देश पनि दिएका छन्।
भेटका क्रममा चीन सरकारको तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि २० लाख अमेरिकी डलर र चिनियाँ रेडक्रसको तर्फबाट थप २ लाख अमेरिकी डलर सहयोग हस्तान्तरण गरिएको छ।











