काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार एक्लैको प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय हुनुपर्ने बताएका छन्।
राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले मानव बेचबिखनलाई मानवसभ्यताकै कलङ्कका रूपमा व्याख्या गर्दै यसको रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रविधिको विकाससँगै मानव बेचबिखनका माध्यम, स्वरूप र गन्तव्यमा परिवर्तन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रविधिको सही प्रयोग र सजगताबाट यसको जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।
उनले मानव बेचबिखन नियन्त्रणसम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन संशोधन विधेयक संसद्मा दर्ता गरिएको जानकारी पनि दिए।
प्रधानमन्त्री शाहले भनेका छन्, “हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ।”











