काठमाडौं । भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतमा सक्रिय नेकपाले अब शीर्ष नेतृत्वलाई प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाने तयारीमा छन्।
आइतबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विपद्को समयमा नेतृत्वले प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्नुपर्ने विषयमा छलफल भएको थियो।
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेकपाले आकस्मिक बैठकमार्फत पार्टी पंक्तिलाई खोज, उद्धार र राहतमा परिचालन गरेको थियो।
बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरिएको थियो। त्यसैगरी वर्षमान पुन, नन्दकिशोर पुन ‘पासाङ’, सरल सहयात्री पौडेल, गङ्गानारायण श्रेष्ठलगायत नेताहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।
नेता गङ्गाका अनुसार स्थलगत अवलोकनका क्रममा बाढीपीडितका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिइएको थियो। त्यसपछि बैठकमा पार्टीको शीर्ष नेतृत्व पनि प्रभावित क्षेत्रमा पुग्नुपर्ने सुझाव आएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह, सरकारका मन्त्री तथा अन्य प्रमुख राजनीतिक दलका नेताहरू प्रभावित क्षेत्रमा पुगिसकेकाले नेकपाले पनि आफ्ना शीर्ष नेताहरूलाई फिल्डमा पठाउने तयारी गरेको हो।











