काठमाडौँ । ग्यास र चिनीको आपूर्ति तथा मूल्यवृद्धिको विषयलाई लिएर प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा छलफल भएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने बताइन्।
उनले नेपालमा ५८ वटा ग्यास उद्योग रहे पनि निगमको प्रत्यक्ष मातहतमा एउटा पनि उद्योग नरहेको बताउँदै उद्योगीहरूबाट मागअनुसार ग्यास आपूर्ति हुन नसकेको गुनासो गरिन्। काठमाडौंका लागि ठूलो संख्यामा सिलिन्डर पठाइएको भनिए पनि वास्तविक आपूर्ति निकै कम भएको उनको दाबी थियो।
मन्त्री कुमारीले ग्यास, तेल, कपडा, खाद्यान्न र चिनीमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउँदै उद्योग स्थापना गर्न सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन्। कच्चा पदार्थको भन्सार छुटलगायत नीतिगत सुधार आवश्यक रहेको उनले बताइन्।
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पारिएको जानकारी दिँदै उनले कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कडाइ गरिएको बताइन्।
सरकारले चिनीको आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको उनले जानकारी दिइन्। सरकारी कम्पनीबाट चिनी १०५ देखि १०९ रुपैयाँसम्ममा बिक्री भइरहे पनि बजारमा १५० रुपैयाँभन्दा कममा नपाइने अवस्था रहेको उनको भनाइ थियो।
समिति सभापति रहबर अन्सारीले चिनीको मूल्यवृद्धिबारे प्रश्न गर्दै समयमै पर्याप्त आयात गर्न नसक्दा समस्या उत्पन्न भएको बताइन्। उनले सरकारी सफ्टवेयर खरिदमा हुने अनावश्यक खर्च नियन्त्रण गर्न तथा उपभोक्ता हितका लागि आवश्यक कानुन निर्माण र संशोधन गर्न आग्रह गरिन्।











