रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिक बुधबार साँझ ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी र धुन्चे जोड्ने मुख्य सडक बाढीपछि अवरुद्ध रहेकाले यो सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
पहिरोका कारण काठमाडौँ र नुवाकोट हुँदै रसुवा सदरमुकाम धुन्चे जाने तथा धुन्चेबाट फर्कने यात्रु बाटोमै अलपत्र परेका छन्। राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधन तथा टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन्।
पहिरो पन्छाउन दुई वटा डोजर परिचालन गरिएको छ भने सडक खुलाउने प्रयास भइरहेको छ।











