एजेन्सी । अमेरिकी सङ्घीय जिल्ला न्यायाधीश टिमोथी केलीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित गर्न आदेश दिएका छन्।
न्यायाधीश केलीको आदेश १४ दिनसम्म लागू हुनेछ। उनले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेशका लागि सञ्चारमाध्यमहरूले आवश्यक कानुनी आधार पूरा गरेको र प्रतिबन्ध जारी रहँदा अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको बताएका छन्।
तीनै सञ्चारमाध्यमले आफूहरूलाई समाचारको विषयवस्तुका कारण लक्षित गरिएको दाबी गर्दै अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गतको प्रेस स्वतन्त्रताको अधिकार उल्लङ्घन भएको जिकिर गरेका थिए। प्रशासनले भने प्रतिबन्ध समाचारको विषयवस्तुका कारण नभई राष्ट्रिय सुरक्षालगायतका कारणले लगाइएको दाबी गरेको छ।
सरकारका अधिवक्ताले ह्वाइट हाउसमा कसलाई प्रवेश दिने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिसँग रहेको तर्क गरेका थिए भने सञ्चारमाध्यमका अधिवक्ताले महत्त्वपूर्ण समाचारका समयमा पत्रकारको पहुँच रोकिँदा अपूरणीय क्षति हुने बताएका थिए।
राष्ट्रपति ट्रम्पले यसअघि ती सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै प्रवेशमा प्रतिबन्ध लगाएका थिए। न्यायाधीश केलीलाई ट्रम्पले सन् २०१७ मा सङ्घीय न्यायाधीशमा नियुक्त गरेका थिए।











