बिहिबार, आश्विन १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण नेपाल कठिन अवस्थामा रहेका बेला अष्ट्रेलिया सरकारले व्यक्त गरेको ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

उनले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोग, विपद् सहायता टोली र विशेषज्ञ जनशक्तिको परिचालन तथा राहत सामग्री र उपकरण उपलब्ध गराएकोमा धन्यवाद दिए। अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको मित्रता र ऐक्यबद्धताको महत्वपूर्ण अभिव्यक्ति भएको प्रधानमन्त्री शाहले बताए।

भेटमा बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणसँगै विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेको बढ्दो जोखिम सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त र पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा जोड दिए।

भेटमा राजदूत साइमन अन्स्र्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्दै हालै संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रभावकारी उपस्थितिको प्रशंसा गरे। साथै, नेपाल–अष्ट्रेलिया सम्बन्ध, विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय