काठमाडौँ । सरकारले आपत्कालीन अवस्थामा एलपी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायका बिक्री केन्द्रलाई समेत प्रयोग गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायका आउटलेटबाट ग्यास बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभएको हो।
समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको बताउनुभयो। पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्र राख्ने व्यवस्था गर्न सके सम्भावित अभावका बेला आपूर्ति व्यवस्थापन सहज हुने उहाँको भनाइ छ।
सचिव तामाङले ग्यास अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको बताउनुभयो।











