काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उहाँले युवा जनशक्ति देशको सबैभन्दा ठूलो पुँजी भएको उल्लेख गर्नुभयो।
मन्त्री तिमिल्सिनाले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउँदै युवालाई स्वदेशमै अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। यसका लागि सरकारले अनुकूल वातावरण निर्माण गर्ने र निजी क्षेत्रले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा प्रदान गर्न सकिने बताउँदै युवालाई वैदेशिक रोजगारीमा मात्र निर्भर नरही अन्तर्राष्ट्रिय बजारमा नेपाली सेवा विस्तार गर्ने दिशामा अघि बढ्न आग्रह गर्नुभयो।
डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो। दूरसञ्चार क्षेत्रमा थप प्रगति हासिल गर्न सरकारले यसै वर्ष फाइभ-जी सेवा सुरु गर्ने लक्ष्यसहित काम गरिरहेको पनि उहाँले बताउनुभयो।
प्रविधिले मानिसको महत्त्व घटाउने नभई क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले प्रविधि, मानवीय सिर्जनशीलता र उद्यमशीलतालाई एकीकृत गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले नेपालमा कृत्रिम बौद्धिकता (एआई) को अवस्था अझै कमजोर रहे पनि यस क्षेत्रमा युवाको सहभागिता र लगानी बढ्दै गएको बताउनुभयो। उहाँले एआईको प्रभावकारी उपयोगबाट सरकारी सेवा प्रवाह सुधार गर्न, उत्पादकत्व बढाउन, तथ्याङ्क सुरक्षा सुनिश्चित गर्न र रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।
युवालाई बजारको मागअनुसार आवश्यक सीप र क्षमतामा आधारित शिक्षा प्रदान गर्दै उद्यमशीलताका लागि तयार गर्नुपर्नेमा पनि कार्यक्रममा जोड दिइएको थियो।











