काठमाडौँ :- शिक्षकलाई सवारीसाधन खरिद गर्दा ब्याजमा सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित नियमावलीअनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न पाउनेछन्।
त्यस्तै, माध्यमिक तहका तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बैंकमार्फत सवारीसाधन खरिदका लागि गरिने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने प्रस्ताव गरिएको छ।
नियमावलीमा समावेश गरिएको यो व्यवस्था कार्यान्वयनमा आउन सम्बन्धित निकायको सहमति तथा आवश्यक प्रक्रिया पूरा हुनुपर्नेछ।











