शनिबार, आश्विन २४, २०८३
निर्वाचन लक्षित सङ्गठन सुदृढीकरणमा एमाले, वडा र पालिका अधिवेशनको तयारी

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले सङ्गठन सुदृढीकरण र नेतृत्व पुनर्गठनको प्रक्रिया अघि बढाएको छ। पार्टीले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।

एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार तल्लो तहका कमिटीमा नेतृत्व पुनर्गठन गर्नुका साथै प्रदेश तथा जिल्ला तहका नेतृत्व र जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गर्ने योजना छ। यसबाट पार्टी सङ्गठनलाई थप सक्रिय बनाउने लक्ष्य राखिएको उनले बताए।

निर्वाचनको तयारीसँगै एमालेले जनतासँगको सम्बन्ध विस्तारमा प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। पार्टीले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका घटनाको वास्तविकता, लोकतान्त्रिक प्रक्रियामा परेको असर, निर्वाचनको वातावरण तथा पार्टीमाथि लागेका आरोपको समीक्षा गरिरहेको जनाएको छ। आफ्नै कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने विषयलाई पनि समीक्षामा समेटिएको छ।

यसका साथै, जनजीविकाका सवाललाई राजनीतिक प्राथमिकतामा राख्नुपर्ने एमालेको धारणा छ। महँगी, बेरोजगारी, किसानको उत्पादनको मूल्य, मजदुरको श्रम, साना उद्यमीको करभार, शिक्षा, स्वास्थ्य, महिला सुरक्षा र आवासका समस्या सम्बोधन गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।

सीमावर्ती नागरिक र प्रवासी नेपालीका समस्यालाई समेत दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्ने एमालेको भनाइ छ।

यसै सन्दर्भमा पार्टीको स्थायी कमिटी बैठक तीन दिनदेखि जारी छ। बैठक आज पनि च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय