काभ्रे । ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, काभ्रेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी, काभ्रेको समन्वय तथा लायन्स क्लब अफ काभ्रे, बनेपाको सहयोगमा आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले प्रहरीको काम प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यले प्रहरीप्रतिको जनविश्वास अझ अभिवृद्धि गर्ने बताए।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी रविन बिष्टका अनुसार रक्तदान गर्नेमा ३४ जना प्रहरी कर्मचारी र २७ जना स्थानीय नागरिक रहेका छन्।
कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो। रक्तदानमार्फत जीवन बचाउने मानवीय कार्यमा योगदान पुर्याउनुका साथै प्रहरी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।












