बिहिबार, आश्विन २९, २०८३
चाडपर्वमा अपराध र दुर्घटना रोक्न काभ्रे प्रहरीको कडा सुरक्षा योजना

काभ्रे । नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना, चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीका अनुसार चाडपर्वको समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालनलाई व्यवस्थित बनाइएको छ। सम्भावित अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो।

विशेष सुरक्षा योजनाअन्तर्गत सार्वजनिक स्थान, बजार क्षेत्र, राजमार्ग तथा बढी भीडभाड हुने स्थानमा प्रहरी निगरानी बढाउने, नियमित गस्ती गर्ने र आवश्यकताअनुसार सुरक्षा जाँचलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

त्यसैगरी, चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि पनि प्रहरीले विशेष ध्यान दिने जनाएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति तथा लापरबाहीपूर्ण सवारी सञ्चालनजस्ता गतिविधि नियन्त्रण गर्न निगरानी बढाइनेछ।

प्रहरीले चाडपर्व मनाउने क्रममा कुनै पनि आपराधिक गतिविधि वा शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन प्रहरीको सुरक्षा योजनासँगै नागरिकको सहयोगसमेत महत्त्वपूर्ण हुने भएकाले सबैलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय