शुक्रबार, मंसिर ११, २०८३
‘अग्रजले कोरेको गोरेटोलाई फराकिलो राजमार्ग बनाउनु छ’ : अध्यक्ष टी.आर. भण्डारी

होटल व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसमा अध्यक्ष भण्डारीद्वारा अग्रजहरूको योगदानको स्मरण, संस्थागत एकता र पर्यटन क्षेत्रको विकासमा सामूहिक प्रतिबद्धताका लागि आह्वान।

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले महासंघको १५औँ स्थापना दिवसका अवसरमा सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरूलाई शुभकामना व्यक्त गर्दै संस्थागत एकता, सुदृढीकरण र व्यावसायिक मर्यादालाई थप उचाइमा पुर्‍याउन सबैलाई आह्वान गरेका छन्।

वि.सं. २०६८ मंसिर ११ गते देशभर छरिएर रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई एउटै संस्थागत छातामुनि एकताबद्ध गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको होटल व्यवसायी महासंघ नेपालले आफ्नो गौरवपूर्ण १५ वर्षे यात्रा पूरा गरेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले यसलाई संस्थागत विकास र व्यावसायिक एकताको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

स्थापनाकालको स्मरण गर्दै अध्यक्ष भण्डारीले महासंघको मुख्य उद्देश्य साना, मझौला तथा ठूला होटल, रेस्टुरेन्टलगायत आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एउटै व्यावसायिक सञ्जालमा जोड्ने, व्यवसायीका समस्या तथा हकहितका आवाजलाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने र नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित एवं व्यावसायिक बनाउने रहेको बताएका छन्।

महासंघको १५ वर्षे यात्रामा अग्रजहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उनले संस्थापक अध्यक्ष माधवप्रसाद नेपाल, पूर्वअध्यक्षहरू अमृतबहादुर भुजेल र हिराध्वज शाह तथा निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले संस्थाको विकास र विस्तारमा पुर्‍याएको योगदानको उच्च सम्मान गरेका छन्।

त्यसैगरी, विभिन्न कठिन परिस्थिति, प्राकृतिक विपत्ति तथा आर्थिक उतारचढावका बीच महासंघको संस्थागत यात्रालाई निरन्तरता दिन सहयोग गर्ने संस्थापक, अग्रज, सल्लाहकार, प्रदेश, जिल्ला तथा इकाई संघका नेतृत्व र सम्पूर्ण व्यवसायी सदस्यहरूप्रति उनले आभार व्यक्त गरेका छन्।

वर्तमान समयमा आतिथ्य क्षेत्र खाना र आवासको सेवा प्रदान गर्ने परम्परागत व्यवसायमा मात्र सीमित नरहेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले यस क्षेत्रलाई नेपाली संस्कृति, मौलिक पहिचान, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा चित्रण गरेका छन्।

उनका अनुसार बदलिँदो समय र पर्यटन बजारको आवश्यकताअनुसार होटल तथा पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउन व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, डिजिटल साक्षरता विस्तार तथा नीतिगत सुधार अपरिहार्य छन्। यसका लागि राज्यसँग रचनात्मक सहकार्य गर्दै निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

अध्यक्ष भण्डारीले महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारीलाई पदभन्दा पनि ऐतिहासिक दायित्वका रूपमा लिएको बताएका छन्। वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सामूहिक ऊर्जा, एकता र प्रतिबद्धता नै संस्थालाई थप उचाइमा पुर्‍याउने प्रमुख शक्ति भएको उनको विश्वास छ।

उनले आफ्नो सन्देशमा भनेका छन्, “हिजो अग्रजहरूले कोर्नुभएको गोरेटोलाई आज हामीले फराकिलो राजमार्ग बनाउनु छ।” यस अभिव्यक्तिमार्फत उनले महासंघको विगतको उपलब्धिलाई संस्थागत गर्दै भावी पुस्ताका लागि अझ बलियो, प्रभावकारी र विश्वसनीय संस्था निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

१५औँ स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले आपसी एकता, संस्थागत सुदृढीकरण र व्यावसायिक मर्यादालाई केन्द्रमा राख्दै देशभरका होटल तथा पर्यटन व्यवसायीहरूको साझा भरोसा र गौरवको केन्द्रका रूपमा महासंघलाई स्थापित गर्ने सामूहिक संकल्प गर्न सबैमा आग्रह गरेका छन्।

महासंघले यस वर्ष ‘होटल व्यवसायीको सम्मान, पर्यटनको विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मंसिर ११ गतेदेखि १७ गतेसम्म सप्ताहव्यापी रूपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउँदैछ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसाय प्रवर्द्धन, सम्पदा सरसफाइ, होटल तथा पर्यटन सचेतना, प्रभातफेरी, अन्तरक्रिया, व्यवसायी फेलोसिप, दीप प्रज्ज्वलन तथा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय