नयाँ वर्ष २०२२ को आगमनसँगै धुलिखेलका होटलहरुमा पर्यटकीय चहलपहल सुरु

काभ्रे (धुलिखेल) – अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ को आगमनसँगै आन्तरिक पर्यटकले काभ्रे स्थित धुलिखेलका होटलहरुमा पर्यटकीय चहलपहल सुरु भएको छ।
कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो ।धुलिखेलमा यो नयाँ वर्षमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकको संख्या धेरै देखिन्छ । आज शनिबार प्रायः सरकारी कार्यालय समेत बन्द हुने भएकाले घुम्न आउने पर्यटकको संख्या बृद्धि अनुमान गरिएको छ ।
धुलिखेलमा अधिकांश होटल एकसाता अघि देखिनै बुक भइसकेको होटल व्यवसायीहरुले बताएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाको समिक्षा बैठक, अन्तक्रिया, गोष्ठी जस्ता कार्यक्रमले पनि वर्षको अन्तिम साता होटल व्यवसायीहरुलाई निकै राहत पुगेको छ ।
लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । त्यससँगै स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको लागि भौतिक संरचनाको निर्माणसँगै पर्यटक लक्षित उद्यानको निर्माण र पैदल तथा साइकलयात्रीको लागिसमेत रुटको व्यवस्था गरेका कारण पर्यटकको सङ्ख्या बढ्दो छ ।
रमाइलो वातावरणसँगै होटलबाट बाहिर निस्केर केही समयमा हिँडेरै बजारक्षेत्रको माथि रहेको देवीस्थान डाँडामा गएर उद्यान क्षेत्रको आरामदायी बसाइसँगै हिमालय शृङ्खला तथा वरिपरिका प्राकृतिक दृश्य अवलोकन गरी आनन्द लिन पाउने र सुविधासम्पन्न प्रसस्त होटल भएकाले धुलिखेलको ख्याति बढ्दो छ ।