वडा कार्यलय र स्वास्थ्य चौकी भवनको एकैसाथ शिलान्यास

काभ्रे (कानपुर) –  जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आज आयोजित एक कार्यक्रमका बीच वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् ।

नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वडा नं. ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । यसअघि वडा नं. २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने यही वर्षभित्र सक्नेगरी वडा नं.४ को भवन निर्माण भइरहेको छ । यस्तै वडा नं. १ को भवन निर्माणको प्रक्रिया पुरा गरेर केही समयमै निर्माण थाल्ने तयारी भइरहेको छ ।

वडा नं.५ कानपुरमा वडा कार्यालय भवनसँगसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि उक्त वडामा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्रको भवन निर्माण भैरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिएका छन् ।शनिबार शिलान्यास भएको वडा नंं.५ को दुई वटै भवन निर्माण दुई महिनामा सम्पन्न हुने निर्माण व्यवसायीले जानकारी दिएका छन्।

नगर प्रमुख शर्माले तोकिएको समयमा निर्माण सम्पन्न गरेमा निर्माण व्यवसायीलाई नगरबाट सम्मान गरिने बताए । उनले आफ्नो कार्यकालमा नगरका सबै वडामा वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको र त्यसमा सफलता हासिल गरेको पनि बताए । भवन निर्माणपछि नागरिकलाई अझै सहजरुपमा सेवा प्रदान गर्न सकिने तिमल्सिनाले बताए ।

वडा नं. ५ को वडा कार्यालय निर्माणका लागि गतिशिल निर्माण सेवा हेटौडासँग भ्याटबाहेक ३९ लाख ७१ हजार ६ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने स्वास्थ्य चौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौंसँग भ्याटबाहेक २१ लाख ८१ हजार २ सय ३५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । भवन शिलान्यास पश्चात नगरप्रमुख शर्माले कानपुर माविको नव निर्मित भवनको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस