
छ जना कलाकारलाई कोरोना संक्रमण : सुटिङ प्रभावित
भारतमा तिब्र रुपमा कोरोना बढेपछि बलिउडमा यसको असर परेको छ । अहिले आधा दर्जन कलाकारहरु कोभिडको शिकार भएका छन् । अभिनेत्री नोरा फतेही, अभिनेताहरु अर्जुन कपुर, रणवीर शौरी यतीबेला कोरोना बिरुद्ध लडिरहेका छन् । यी मध्ये केही कलाकार घरमै उपचार गर्दैछन् । कोही भने अस्पतालमा छन् ।
यस्तै कोरोना संक्रमित भएकी अभिनेत्री करिना कपुर, अमृता अरोडाले भने कोरोना जितेका छन् । अर्का अभिनेता जोन अब्राहम दुई दिन अघि मात्र कोरोना संक्रमित भएका छन् । उनले इन्टाग्राममार्फत आफु र पत्नी प्रिया कोरोना संक्रमित भएको बताएका छन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जोनले जानकारी गराएका छन् ।
यस्तै महाराष्ट्र सरकारले मुम्बई लगायतका शहरको फिल्म हल बन्द गर्नुका साथै सामुहिक भेला हुन रोक लगाएको छ । जसका कारण यतीबेला छायाँकनमा रहेका बलिउडका विभिन्न फिल्म तथा टेलिफिल्मको छायाँकन प्रभावित भएको छ । अहिले अक्षय कुमार, सलमान खानसहित विभिन्न कलाकारहरुको फिल्म सुटिङमा थियो । कोरोनाका कारण फिल्मको छायाँकन पनि प्रभावित भएको छ ।