
कोरोना संक्रमण बढ्दै गर्दा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले सप्ताहान्तको दुई दिन शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरेको छ ।सप्ताहान्त र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले मंगलाबर यसबारे जानकारी दिएका हुन् । विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै उनले अस्पताल लगायत अत्यावश्यक काम परेर बाहेक दुई दिन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । दिल्लीमा मंगलबार कोरोना संक्रमण दर ८ दशमलव ३७ पुगेको छ । अघिल्लो दिनको तुलनामा १३ सयले बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा दिल्लीमा ५ हजार ४ सय ८१ संक्रमित भेटिएका हुन् ।
यतिबेला दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको छ । मंगलबार ३ जनाको मृत्युसमेत भएको छ । २९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यू लगाएको छ ।
सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये भारत पनि एक हो ।