एसपी पाण्डे तीन महिनाका लागि निलम्बित

काठमाडौं – प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै सिराहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयमा सरुवा भएको भोलीपल्टै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि एसपी पाण्डे निलम्बनमा परेका हुन् । प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए ।

इलाम, प्रहरी प्रधान कार्यालयको बजेट महाशाखा र सिराहामा रहँदा आर्थिक अनियमितामा मुछिएका एसपी पाण्डे पछिल्लो दिनमा कांग्रेस सिराहा सभापति यादवलाई गोली हानेर मार्ने भन्दै पेस्तोल लिएर मध्यराति उनको घरमा पुगेको पुष्टि भएपछि एसपी पाण्डेलाई निलम्बन गरिएको हो ।

एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले जिल्‍ला प्रहरी कार्यालय सिराहाको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानेपछि आइतबार मध्यराति साढे १ बजे उनी पेस्तोलसहित यादवको घरमा पुगेका थिए ।

तर, एसपी पाण्डेले भने आफू यादवको घरमा नगएको र गोली हानेर मार्ने धम्की नदिएको दाबी गरेपनि सिडियोकै रिपोर्टले पुष्टि गरेपछि प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गर्न गृहमन्त्रालयमा लेखी पठाएको थियो । प्रहरी कार्यालयले उनीमाथि छानविनका लागि उजुरी परेकाले आर्थिक अनियमितता बारे पनि छानविन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस