काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा पनौतीमा निःशुल्क आँखा शिविर सञ्चालन
काभ्रे (पनौती) – पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा पनौती नगर क्षेत्रभित्र पाँच दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पताल को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर आज पनौतीको रेडक्रस भवनबाट सुरु भएको हो । उद्योग वाणिज्य संघले आज एक कार्यक्रम गर्दै निःशुल्क शिविरको सुरुवात गरेको हो ।
पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पंछसेको सभापतित्वमा निःशुल्क आँखा शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै काभ्रे उद्योग वाणिज्य संघले निःशुल्क आँखा शिविर सञ्चालन गरेकोमा कार्यक्रमका प्रमुख अतिथिले नगर प्रमुख भिम न्यौपानेले कृतज्ञता व्यक्त गर्दै भने,‘समाजमा यस्ता सामाजिक कार्यक्रम सबै संघ संस्थाले गर्दै जानुपर्छ । अरु संस्थाले पनि यस्तै कार्यको अभ्यास गर्दै जानुपर्छ ।’ यस्ता कार्यक्रमका लागि नगरपालिकाले सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले भने, ‘उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको छ। यस्ता कार्यक्रमलाई संघले भोलिका दिनमा पनि निरन्तरता दिनेछ ।’ पनौती नगर क्षेत्रमा निःशुल्क आँख शिविर कार्यक्रमका लागि पनौती नगरपालिकाले समन्वय र सहयोग गरेकोमा नगरपालिकाप्रति उनले कृतज्ञता व्यक्त गरे । निःशुल्क आँखा शिविरमा चस्मा र विभिन्न आँखा हाल्ने औषधी पनि उपलब्ध गराउने र सामान्य समस्याको शिविरमा नै समाधान हुने पनौती शाखाका स्वास्थ संयोजक अनिल ढुंगेलले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु लक्ष्मीलाल राजभण्डारी,दियेशरत्न शाक्य , उद्योग वाणिज्य संघका विशेष आमन्त्रित विशिष्ट सदस्य राजन मानन्धर ,काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य कैलाश पलाञ्चोके, उद्योग वाणिज्य संघ पनौती संयोजक श्रीकृष्ण थापा, उद्योग वाणिज्य संघका कार्यकारी सदस्य राजेश सुन्दर सैजु, पनौती स्वास्थ्य शाखाका सह संयोजक अनिल ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
नगरका विभिन्न स्थानमा फरक समयमा आँखा शिविर सञ्चालन हुने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए । उनका अनुसार पौष २१ गते रेडक्रस भवन पनौती बजारमा, पौष २३ गते कुशादेवि स्वास्थ्य चौकी, कुशादेवि, पौष २४ गते सुनथान प्राथमिक स्वास्थ्य केन्द्र, सुनथान, पौष २६ गते खोपासी प्राथमिक स्वास्थ्य केन्द्र खोपासी, पौष २८ गते कलाती भुमिडाँडा स्वास्थ्य चौकी, भुमिडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ । निःशुल्क आँखा शिविरमा सहभागी भएर स्वास्थ लाभ लिन हुन सम्पूर्ण नगरबासीमा काभ्रे उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।