कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न डब्लुएचओको चेतावनी
शुक्रबार, पौष २३, २०७८ | १२:२५:५६
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस घेब्रेयियसले कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । विश्वमा दैनिक कोरोना संक्रमितको संख्या २५ लाखभन्दा बढीले बढ्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
ओमिक्रोन भेरियन्टको कारण विश्वमा तिव्र गतिमा कोरोना फैलिँदा स्वास्थ्य सेवामाथि दबाव बढ्न थालेको उनले बताएका छन् । डेल्टा भेरियन्टको भन्दा ओमिक्रोनका विरामी कम गम्भिर देखिए पनि यसलाई हल्का रुपमा नलिन समेत उनले भनेका छन् ।
‘खासगरी खोप लगाइसकेकालाई डेल्टाको तुलनामा ओमिक्रोन कम खतरनाक देखिन्छ । तर यसको अर्थ यो होइन की यो कमजोर छ । ओमिक्रोनका कारण पनि विरामी अस्पताल भर्ना भएका छन्,’ घेब्रेयियसले भने । उनले संक्रमणको सुनामी तिव्र गतिमा बढिरहेको तर्फ सबैको ध्यानाकर्षण गरेका छन् ।