भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गरिने : शिक्षा मन्त्रालय

काठमाडौं – भोलि पौष २७ गतेदेखि माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले भोलिदेखि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न समेत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
मन्त्रालयले विदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।