भिडभाडजन्य कार्य नगर्न डिसिएमसी काभ्रेको आदेश
काभ्रे (धुलिखेल) – बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन समिति काभ्रेले भिडभाडजन्य कार्य नगर्न निदेर्शन दिएको छ । आज बसेको डिसिएमसीको बैठकले २५ जना भन्दा बढि भेला हुने गरी हार्ट, मेला, जात्रा, पार्टी, जस्ता भिडभाड हुने कार्यहरु नगर्न निर्देशन दिएको छ ।
सार्वजनिक स्थलामा हिंडडुल गर्दा अनिवार्य रुपमा जनस्वास्थ्य मापदण्ड र सामाजिक दुरी पूर्ण रुपमा पालना गर्न डिसिएमसीले अनुरोध गरेको छ । कोभिड १९ सँग मिल्दो जुल्दो समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । जिल्ला स्थित धुलिखेल अस्पताल, मंगलटार र दोलालघाट क्षेत्रमा एन्टिजेन टेष्ट बुथ स्थापना गरी निःशुल्क एन्टिजेन परीक्षणका व्यवस्था मिलाइने निर्णय बैठकले गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै संक्रमण नियन्त्रणका लागि बैठकले उक्त निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका भेला तथा धेरै जना उपस्थित हुने गरी कार्याक्रमहरु नगर्न, मेला, महोत्सवहरु नगर्न काभ्रेका १३ वटै स्थानीय तहका सरोकारवाला निकायलाई अनुरोध गरेको छ । बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मकर मेला नहुने निर्णय गरेको हो । पनौतीमा लाग्ने १२ वर्षे मकर मेला नहुने भएपनि मेलामा २५ जना भन्दा कम संख्या भएमा स्नान गर्न भने पाइने छ ।
त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला पार्का लगायतका क्षेत्र)मा प्रवेशका लागि अनिवार्य रुपमा कोरोनाको खोप कार्ड (मोबाइलमा फोटो भए हुने)देखाउनुपर्ने बैठकबाट निर्णय भएको छ ।
बैठकले सार्वजनिक सवारी साधनमा कुल सिट क्षमताभन्दा बढि संख्यामा यात्रुहरु राख्न नपाइने निर्णय पनि गरेको छ । पौष २९ गतेबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय गरिएको हो ।बैठकको निर्णय अनुसार सार्वजनिक सवारीका चालक, सह–चालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्नुपर्ने हुन्छ ।
पौष २९ गतेबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित निर्णय गरिएको डिसिएकसीले जनाएको छ । कोही कसैले कार्यालयबाट जारी गरिएको निर्देशन पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने बैठकले निर्णय गरेको छ ।