अर्को सूचना जारी नभएसम्मका लागि १२ वर्षे मकर मेला स्थगित
काभ्रे (पनौती) – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला स्थगित गरिएको छ । पनौती नगरपालिकाले आज एक सूचना जारी गर्दै मकर मेला स्थगित गरिएको बारे जानकारी गराएको हो ।
नगरपालिकाबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी आदेश अनुसार विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि २०७८ माघ महिना भर पनौती नगरपालिका क्षेत्र त्रिवेणी घाटमा १२ वर्षे मकर मेला सञ्चालन हुनेमा मेलामा २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाइ भक्तजनहरुले स्नान गर्न सक्नेछन् । त्यस्तै अन्य मेला सम्बन्धि सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।’