संक्रमण फैलिने खतरा बढेपछि सप्तरीका नाकामै कोरोना परीक्षणको तयारी
राजविराज – संक्रमण फैलिने खतरा बढेपछि सप्तरीका नाकामै कोरोना परीक्षणको तयारी गरिएको छ । संक्रमण फैलिने खतरा बढेसँगै मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा उच्च सतर्कता अपनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराईले बताए ।
उनका अनुसार भारतसित जोडिएका बेल्ही, रामनगर कोटरकटी, सोभरणपटी, पातो, बनैनिया, छिन्नमस्ता र मल्हनियालगायतका नाकामा जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले तत्काल हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यस्तै, पालिकाहरूले पुनः आइसोलेसन केन्द्र बनाउनुपर्ने, गजेन्द्रनारायण सिंह अस्पतालको आईसीयू, एनआईसीयू, अक्सिजन प्लान्टलगायतका सेवा तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । सप्तरीका विभिन्न नाकाबाट दैनिक सयौं भित्रिने गरेका छन् । अहिले तिलाठीस्थित बेल्ही भन्सार नाकामा मात्र हेल्थ डेस्क छ ।