के ‘स्मार्ट लकडाउन’ सिनेमा हलमा लागू हुन्छ ?

काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । मङ्गलबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मङ्गलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपत्यकामा मङ्गलबार मध्यरातबाट लागू हुने गरी काठमाडौँ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । नयाँ निर्देशन अनुसार २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको छ । यसले फिल्म हलमा पनि २५ जना भन्दा बढी भेला हुन नपाउने भनिएको हो भन्ने फिल्मकर्मीमा परेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत उमाकान्त अधिकारीले भने फिल्म हलको सवालमा माघ ७ गतेदेखि खोप कार्ड देखाएर छिर्न सकिने नियम भएको बताएका छन् । खोप कार्ड हुने दर्शकले हलमा गएर फिल्म हेर्न सक्ने भए पनि कोरोना सङ्क्रमणको दृष्टिकोणले फिल्म हल कति सुरक्षित छ भन्ने सर्वसाधारण अझै अन्योलमा छन् ।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भने फिल्म हल कोरोना सङ्क्रमण दृष्टिले सुरक्षित रहेको बताउँछन् । ‘फिल्म हलमा मास्क बिना प्रवेश निषेध छ । प्रत्येक शोमा हल पुरै स्यानिटाइज समेत हुन्छ’ शर्माले भने ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालन हुने भएको जोखिको डर छैन ।’ उपत्यकाको सीडीओले लागु गरेको निर्णय हलमा पालना भए नभएको समेत निगरानी हुने उनले खुलाए ।

के भन्छन् स्वास्थ्य विज्ञ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढिरहेका बेला बाध्यात्मक अवस्था बाहेक भिडभाड सहभागी हुने कुरालाई अस्वीकार गर्न आग्रह गर्दछन् । ‘फिल्म हल सञ्चालित भए पनि २५ जनाभन्दा सहभागिता हुनु हुँदैन,’ उनले भने, ‘त्यसरी सहभागी भए पनि मास्कको प्रयोग, हातको सरसफाइ, सामाजिक दूरी कायम गरेर मात्रै २५ जनालाई सहभागी बनाउनुपर्छ ।’

जनस्वास्थ्यका मापदण्ड पूरा गरी पूर्ण मात्रा खोप लगाएर २५ जना मात्रै सहभागी भए पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम कायम रहेकाले सजगता अपनाउन डा .अधिकारीको आग्रह छ । ‘हलहरूमा फिल्म हेर्दा झ्याल, ढोकाहरू बन्द हुँदा गुम्म हुन्छ, साढे दुई घण्टासम्म बस्नुपर्ने हुन्छ,’ उनले थपे ‘त्यस समयमा एक व्यक्तिले लापरवाही गरेको खण्डमा झन् जोखिम हुन्छ ।’ साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस