
काभ्रे (धुलिखेल) – नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । आज धुलिखेलमा आयोजित प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको बताएका हुन् ।
छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बताउँदै उनले भने,‘त्यसकारण पनि नेपाली पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुनुको साथै पत्रकारिताको महत्व घट्दै गइरहेको छ । ’
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्लाअध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, अर्का केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, महासङ्घ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्लाध्यक्ष रोजन तामाङलगातले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनले नयाँ नेत्तृत्व चयन गर्ने बताइएको छ ।