बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
काठमाडौं – बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक भने घाइते छन् ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगरको पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।