चौंरीदेउराली गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण : आकस्मिक बाहेक अन्य सेवा बन्द

काभ्रे (बनेपा) : पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले स्वास्थ्य तथा आकस्मिक बाहेक अन्य सेवाका प्रशासनिक काम कारबाहीहरु बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै स्वास्थ्य तथा आकस्मिक बाहेक अन्य सेवा प्रशासनिक काम कारबाहीहरु बन्द गर्ने निर्णय गरिएको बारे जानकारी गराएको छ । प्रकाशित सूचनामा भनिएको छ, ‘गाउँपालिकाका कर्मचारी र समुदाय स्तरका नागरिकहरु समेत कोरोना भाइरसबाट संक्रमित भइ सार्वजनिक जनजीवनमा समेत अति प्रभावित हुन सक्ने भएकाले माघ ५ गतेदेखि माघ ११ गतेसम्मका लागि यस गाउँपालिकाकाको कार्यपालिकाबाट सम्पादन हुने स्वास्थ्य तथा आकस्मिक बाहेक अन्य सेवा प्रशासनिक काम कारबाहीहरु बन्द गरिने व्यहोरा यस गाउँपालिकाको माघ ४ गतेको निर्णय अनुसार सर्वसाधरणको जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको छ ।