
गोरखा : कोरोना संक्रमणको जोखिमका कारण शक्रबारदेखि गोरखाको मनकामना मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले जानकारी दिए।
उनका अनुसार बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ । “शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बारबाट मात्र पूजाआजा गर्न पाउनेछन्”, उनले भने, “मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।”