लामो दूरीका सवारीसाधनलाई बीचबाटोमा थप यात्रु चढाउन रोक

काठमाडौं : काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक यातायातका सवारीसाधनको सिट संख्याबराबर मात्र यात्रु राखेर सञ्चालन गर्न आदेश जारी गरेको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु चढाउन रोक लगाएको छ ।

प्रशासनले सार्वजनिक गरेको आदेशअनुसार सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड ९१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई उपलब्ध गराउनुपर्नेछ । कानुनअनुसार लामो दूरी भन्नाले दुई सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । त्यस्तै, २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।

त्यस्तै, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने गरिएको छ । कुनै यात्रुले मास्क नलगाई यात्रा गर्न आएको खण्डमा सवारीसाधनमा चढ्न नदिने व्यवस्था गरिएको छ । सार्वजनिक सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्नेछ ।

सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनुपर्ने भएको छ भने सवारीसाधनलाई दैनिक रूपमा अनिवार्य निसंक्रमित गर्नुपर्ने आदेश जारी भएको छ । आदेशअनुसार सबै सार्वजनिक सवारीसाधनले आफ्नो साधनलाई निसंक्रमित गर्नुपर्नेछ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने पनि आदेशमा उल्लेख छ । यसबाहेक राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेस्टुरेन्टले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने प्रशासनको आदेश छ । यो समाचार नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस