३ नगरपालिकालाई समेट्ने पर्यटकीय पदमार्गः दिसा पिसाब गर्न झाडी छिर्छन पदयात्री

-
नगरभरीमा एउटै पनि छैन सार्वजनिक शौच घर
-
नमोबुद्धमा एउटा मात्रै
-
धुलिखेलमा पनि बजार क्षेत्रमा मात्र शौच घर
नगरकोट–धुलिखेल–नमोबुद्ध पर्यटकीय पदमार्ग धेरै पर्यटकहरुको रोजाइमा पर्ने गर्छ । प्राकृति सौन्दर्य, कला संस्कृति, इतिहास भूगोलका बारेमा जानकारी लिनका साथै मनरोञ्जन प्राप्त गर्नका लागि पनि हजारौँ पर्यटकहरु उक्त पदमार्गको अवलोकन गर्ने गर्छन् ।
अधिकांश पर्यटकहरुलाई घुमफिर गर्दा हुने एउटा समस्या, यात्रामा शौच गर्नु परेमा कहाँ जाने ? विशेष गरेर लामो यात्रामा हिँडेकाहरुलाई यस्तो समस्या हुने गर्छ । त्यसो त उक्त पदमार्गका यात्रीले पनि उक्त समस्या भोग्न बाध्य नै छन् ।
नगरकोट–धुलिखेल–नमोबुद्ध पर्यटकीय पदमार्गले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर , धुलिखेल र नमोबुद्ध नगरपालिकालाई समेट्छ । तीन वटा दनगरपालिकालाई समेट्ने उक्त पदमार्गमा प्रयाप्त सार्वजनिक शौचालय छैनन् । बाटोमा दिसा पिसाब लागेमा कि झाँडी नै छिर्नु पर्ने हुन्छ कि त होटल तथा खाजा घर खोज्दै भौतारिनुपर्छ । अझ हल्का हुन एक कप चिया नै अर्डर गर्नु पर्ने बाध्यता छ यो पदमार्गमा ।
उक्त पदमार्गअन्र्तगत नगरकोटबाट धुलिखेल १९ किलो मिटरको दुरी छ । ट्रेकिङमा हिँडेका पर्यटकलाई नगरकोटबाट धुलिखेल पुग्न ६ देखि ७ घण्टाको समय लाग्छ । यो समय अवधिमा पर्यटकलाई शौच गर्न पारेमा कहाँ जाने ? कहीँ कतै सार्वजनिक शौचालय छैनन् । त्यसो त मण्डनदेउपुर नगरपालिका भरीमै हालसम्म कुनै पनि स्थानमा सार्वजनिक शौचालय छैनन् ।
नगरमा किन छैनन् सार्वजनिक शौचालय ?
नगरपालिकाले यी पदमार्गलाई समेट्ने गरी दुई स्थानमा सार्वजनिक शौचालय निर्माण सम्पन्न गरेपनि प्रयोगमा भने नआएको नगरपालिकाका प्रमुख टोक बहादुर वाइबा बताउँछन् । उनका अनुसार नगरकोट महाँकाली मा.वि नजिकै र भँगेरी दरबार रिर्सोट जाने बाटोमा गरी दुई स्थानमा शौचालय बनाइएको छ । शौचालय व्यवस्थापन जनशक्ति अभावकोे कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकिएको भन्दै प्रमुख वाइबा यस विषयबाट पन्छिए ।
नगरपालिकाले सार्वजनिक स्थानमा सर्वाजनिक शौचालय निर्माण तथा त्यसको उचित व्यवस्थापन गर्न नसक्नाले पर्यटकहरु अझै पनि झाँडीमै शौच गर्न बाध्य छन् । सार्वजनकि स्थलमा शौचालय नहुदाँको समस्या आन्तरिकभन्दा पनि बाह्य पर्यटकहरुले भोग्नु परेको हुन्छ । आन्तरिकहरु स्थान र परिवेशसँग घुलमिल भएकाहरुलाई पनि कहिलेकाहीँ समस्या भने हुन्छ । पर्यटन क्षेत्रको विकासका लागि ठूला –ठूला योजना बनाए पनि पर्यटन पूर्वाधार विकासमा भने नगरपालिका चुकेको देखिन्छ ।
उक्त पदमार्गलाई समेट्ने काभ्रेको अर्को नगरपालिका हो, धुलिखेल नगरपालिका । मण्डनदेउपुरको तुलनामा धुलिखेलका केही स्थानमा मात्र सार्वजनिक शौचालय निर्माण गरिएका छन् । तर ती शौचालय बजार केन्द्रित छन् । केही समय अघि मात्र धुलिखेल हजार सिँढी हुदैँ नमोबुद्ध हाइकिङका लागि हिँडेकी बनेपाकी प्रमिला खनाललाई यात्राको क्रममा पिसाब लाग्यो । बिहानको ७ बजे हाइकिङ हिँडेकी उनी कहिले ट्वाइलेट भेटिएला शौच गरौँला भन्दै यात्रा गरिरहीन् । उनीसँगै गएका अरु साथीहरुलाई पनि उहीँ समस्या थियो ।
उक्त पदमार्गलाई समेटिने फुलबारीमा पुगेपछि खाजा खाने होटलमा गएर शौच गर्नुपरेको पिडा उनी सुनाउँछिन् । उनीसँगै गएकी अर्का साथीले भनिन्, ‘पुरुषहरुले त जंगलमै शौच गर्नुभयो, हामीलाई भने सहज नभएर होटललाई पर्खियौँ ।’ यस रुटमा अझै धेरै ठाउँमा शौचालय निर्माण भएमा पर्यटकहरुलाई थप सहज हुने उनी बताउँछिन् । नत्र भने पर्यटकलाई होटल तथा खाजाघर कुर्नु बाहेक अर्को बिकल्प हुदैँन ।
त्यसो त नगरपालिकाले आर्थिक वर्ष २०७४/७५का लागि नगर स्तरीय साना पूर्वाधार आयोजना कार्यक्रम अन्र्तगत (नगरकोट–धुलिखेल – नमोबुद्ध) पर्यटकीय पदमार्गलाई व्यवस्थापनका लागि ५ लाख रुपैँया बजेट छुट्याएको थियो ।
उक्त शिर्षकमा पर्यटकीय पदमार्गमा सूचना पाटी, बिश्राम स्थल र शौचालय निर्माण गर्ने भनेर उल्लेख गरिएको थियो । उक्त पदमार्गले नगरपालिकाको वडा नं २, ३, ६, ७, ८ ९ र ११ लाई समेट्छ । पर्यटकलाई सहजताका लागि नगरपालिकाका यी वडाहरुमा सूचना पाटी, बिश्राम स्थल र शौचालय निर्माण गर्ने कुरा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५का लागि नगर स्तरीय साना पूर्वाधार आयोजनामा समावेश भएको थियो ।
नगरपालिकाको बजार क्षेत्र समेटिने वडा नं ७ , ८ र ९ मा मात्रै सार्वजनिक शौचालय निर्माण भएका छन् । नगरपालिकाले योजना सार्वजनिक गरेको ४ वर्ष बितिसक्दा पनि वडा नं २, ३, ६ र ११ मा भने कतै निर्माण नै सुरु गरिएको छैन । नगरका केही वडाले भने भर्खरै सुरसार गरिएको छ ।
पर्यटकीय पदमार्गलाई समेट्ने नगरका अधिकांश वडामा सार्वजनिक शौचालय बनिसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइँटेलले बताइरहदाँ नगरपालिकाको वडा नं २ , ३ र ६ मा भने सार्वजनिक शौचालय हुन बाँकी नै देखिन्छ । शौचालय निर्माणका लागि नगरपालिकाले सार्वजनिक गरेको ४ वर्ष बितिसक्दा पनि उक्त वडामा निर्माण प्रक्रिया अझै अघि बढेको छैन । यहाँ गराइ र भनाइमा अन्तर खुट्याइरहन नपर्ला ।
आयोजना सार्वजनिक गरेको ४ पछि मात्रै नगरपालिकाको वडा नं २ ले शौचालय निर्माणका लागि सुरसार गर्दैछ । शौचालय निमार्णमा ढिलाइ भएको यथार्थ स्वीकार्दै वडा नं २ का वडा अध्यक्ष देव प्रसाद कोइरालाले भने, ‘शौचालय निर्माणका लागि चाँडै नै प्रक्रिया अघि बढाइनेछ । यसको लागि नगरपालिकाबाट बजेट स्विकृत भएको छ । छिट्टै अन्य प्रक्रिया सुरु गरिनेछ ।’ त्यस्तै नगरपालिकाको वडा नं ११ पनि शौचालय निर्माणका लागि भर्खर बामे सर्दैछ । सार्वजनिक शौचालय निर्माणका योजना प्रक्रिया अघि बढेको वडा अध्यक्ष विष्णु धितालले बताए ।
त्यसो त नगरपालिकाको वडा नं ३ ले पनि सार्वजनिक शौचालय निर्माणका लागि कुनै प्रक्रिया अगाडी बढाएको छैन । वडासँग सार्वजनिक स्थान नभएकाले शौचालय निर्माण गर्न नसकिएको वडा नं ३ का वडा अध्यक्ष बिनोद पराजुली बताउँछन् । उनका अनुसार शौचालय निर्माणका लागि योजना बनाइएपनि जग्गाका विषयले गर्दा कार्यान्वयन हुन सकेको छैन ।
पर्यटकीय पदमार्गलाई समेट्ने नगरपालिकाको वडा नं ६ मा पनि सार्वजनिक शौचालय निर्माण गरिएको छैन । वडाले शौचालय निर्माण गर्न भनेर योजना बनाएपनि कार्यान्वयन भने गर्न नसकेको वडा नं ६ का वडा अध्यक्ष संजय कोजूले बताए । हङकङ पुकु पार्कमा शौचालय बनाउने तयारी जुटेका थियौँ,’ उनले भने, ‘तर कोरोना संक्रमण जोखिमका कारण त्यसको कार्यान्वयन गर्न असहजता श्रृजना भएको छ ।’
नगरभित्रका विशेष गरेर बजार क्षेत्रमा रहेका पार्कहरुमा सार्वजनिक शौचालय निर्माण गरिएका छन् । नगरमा अहिले निर्माण भएका सार्वजनिक शौचालय महिलामैत्री, अपाङ्गमैत्री, बालमैत्री र जेष्ठ नागरिक मैत्री निर्माण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुृ (श्रेष्ठ)ले बताइरहदाँ रविओपी हुदँैँ धुलिखेल पुग्ने पर्यटक बन जङ्गल तथा झाँडीमै शौच गर्न बाध्य हुन्छन् । किनभने ती स्थानमा अझै पनि सार्वजनिक शौचालय बनेका छैनन् ।
आवश्यकता हेरेर नगरपालिकाले अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माण गर्ने योजना उनले सुनाए । नगरपालिकाले आफ्नो विकास निमार्णमा पर्यटकीय पदमार्गलाई आवश्यकता अनुसार उच्च स्थान दिएता पनि कार्यान्वयनको पाटो भने फितलो देखिन्छ ।
त्यस्तै यसै पदमार्गलाई समेट्ने काभ्रेको अर्को स्थानीय तह हो । नमोबुद्ध नगरपालिका । धुलिखेलको तुलनामा यस पदमार्गलाई समेट्ने नमोबुद्धमा पनि कम स्थानमा मात्रै सार्वजनिक शौचालय रहको छ । धुलिखेलबाट नमोबुद्धको दुरी ११ किलो मिटर रहेको छ । जहाँ पुग्न यात्रीहरुलाई ४ देखि ५ घण्टाको समय लाग्छ । ११ किलोमिटरको दूरीको यात्रा गरेपछि मात्रै १ वटा सार्वजनिक शौचालय भेटिन्छ । त्यो पनि नमोबुद्धमा । बिच बाटोमा दिसा पिसाब लागेमा पर्यटक होटल तथा खाजा घर धाउनुको साथै झाँडीमा लुक्नु पर्ने बाध्यता यहाँ पनि उस्तै छ ।
पर्यटकहरुले उक्त समस्या झेल्दै आएको कुरा अवगत भएतापनि यस विषयमा काम गर्न नसकएिको नगरपालिकाका प्रमुख टि.पी शर्मा तिमिल्सना बताउँछन् । पर्यटकहरुको यो समस्यालाई सम्बोधन गर्न नगरपालिकाले छिमेकी नगर धुलिखेल र पनौती नगरपालिकासँग समन्वय गरेर योजना बनाउने तयारी भइरहेको बताए ।
हरेक सार्वजनिक स्थानमा भाषण गर्ने क्रममा विकासका गफ आलाप्ने हाम्रा प्रतिनिधिहरु शौचालय र्निाण जस्तो गम्भीर विषयमा खास्सै गम्भीर भएको पाइन्न । यो अवस्थामा नगरले लिएको दिर्घकालिन सोच र पदैलयात्रुहरुको समस्या मात्र होइन आन्तरिक पर्यटनको सवालमा आफूलाई दरोसँग उभ्याउन चाहने हो भने दस्तावेजीकरण भएको आधारमा अपूरा योजनाहरुलाई पूर्णता दिएर सो अभियानमा आफूलाई अग्रदस्तामा उभ्याउनेछ भन्ने विश्वास यो पंक्तिकारले लिएको छ ।