पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जना पक्राउ
काठमाडौं – पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७२ सालको भूकम्पले क्षति पुर्याइ प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र संकलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सुचिकरण गरिएको बाघको टाउको, केशर शमशेरको पोसाक, लुगा सेट मध्येको दुई थान तरवार चोरी भएको थियो।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बुधवार केशरमहलमा बोरामा राखी फालेको अवस्थामा ती सामाग्री फेला पारेको थियो। रातो कलेजी रङको दाप भएको लम्बाई ९३ सेमी र चौडाई ३ सेमी भएको सेतो कालो रङको धातुको बिड भएको तरवार, ९८ सेमी लम्बाई र ४ सेमी चौडाई भएको सेतो हड्डीको जस्तो बिड भएका तरबार र टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८से.मी भएको गोलाई ६७ से.मी भएको ३ केजि तौल भएको बाघको टाउको फेला परारेको थियो।
बरामद सामाग्रीको अनुसन्धान गर्दा चोरी कार्यमा गणेश श्रीपाली भन्ने गणेश बिश्वकर्मा, दिपेन्द्र भन्ने देबेन्द्र केसी, सुमन शर्मा र वीरबहादुर सुनारको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। अनुसन्धानमा खटिएको टोलीले काठमाडौं-२६ केशरमहलबाट दाङ तुल्सिपुर-३ घरभई बसुन्धरा बस्ने सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट-११ घर भई केशरमहल क्षेत्रमा बस्ने वीरबहादुर सुनारलाई पक्राउ गरेको हो।
सुमन शर्मा ८/१० दिन अगाडी केशरमहलबाट सो सामाग्री स्कुटरमा हालेर लैजाँदै गर्दा पक्राउ परेका थिए। उनलाई गणेश श्रीपालीले आफ्नो सामान र स्कुटर केशरमहलमा राखेको भन्दै लिन पठाएको प्रहरीसँगको बयानका क्रममा बताएका छन्। स्कुटरमा राखेको सामानहरू लिएर निस्किँदै गर्दा केशरमहलका गार्डले उनलाई रोकेका थिए। त्यसपछि उनी त्यहाँबाट फरार भएका थिए।