
चालकको कान काटेर दुई युवा फरार

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा बुधबार राती एकजना ट्रक चालकको कान काटेर दुई युवा फरार भएका छन् । पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
उनका अनुसार मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।विराट चोकमा पुगेपछि राती ११स्२५ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको जानकारी डीएसपी मुकारुङले दिए ।
उनका अनुसार अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी मुकारुङले दिए ।