मेस्सी अर्जेन्टिनाको टोलीबाट बाहिर

अर्जेन्टिनाले विश्वकप छनोटको दुई खेलको लागि २७ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान लियोनेल मेस्सीलाई टोलीबाट बाहिर राखेको छ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तरगत दक्षिण अमेरिकी छनोटमा यसै महिना चिली र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेलमा मेस्सी टोलीमा हुने छैनन् ।

दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल १३ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानमा रहँदा अर्जेन्टिना १३ खेलबाटै २९ अंक जोडेर दोस्रो स्थानमा छ । चिली छैटौं तथा कोलम्बिया चौथो स्थानमा छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ३४ वर्षीय फरवार्ड मेस्सी पछिल्लो समय अर्जेन्टिनामै बिदा मनाउँदा कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमणमुक्त भइसके पनि उनी पूर्ण फिट छैनन् । उनी पिएसजीको प्रशिक्षणमा भने सामेल जोडिइसकेको छन् ।

पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तरगत रियल म्याड्रिडविरुद्ध प्रि–क्वाटरफाइनल खेल रहेकाले मेस्सीलाई राष्ट्रिय टोलीमा नसमेट्न अनुरोध गरेको थियो । मेस्सीलाई राष्ट्रिय टोलीमा समावेश नगर्दा पिएसजीलाई राहत मिलेको छ । पिएसजीले फेब्रुअरी १५ मा च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्पेनिस क्लब रियलको सामना गर्नेछ ।

दुई पटकको विश्वकप उपविजेता र कोपा अमेरिकाको विजेता अर्जेन्टिनाले कतारमा हुने प्रतियोगिताका लागि स्थान पक्का गरिसकेको छ । ३४ वर्षीय मेसीले गएको डिसेम्बर २२ यता प्रतिस्पर्धात्मक फुटबल खेलेका छैनन् । अर्जेन्टिनाले जनवरी २७ मा चिली र फेब्रुअरी १ मा कोलम्बियाविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस