गुडिरहेको जिपलाई ढुंगाले किच्दा तीनको मृत्यु, तीन घाइते
ओखलढुंगा : ओखलढुंगामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट झारेको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका– १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।
घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान करिब नौ बजेतिर उक्त दुर्घटना भएको हो । यो समाचार नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।