‘काभ्रेमा सिटामोलको अभाव छैन’ : सहायक सिडिओ सुनुवार
काभ्रे : काभ्रेमा सिटामोलको अभाव नभएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले बताएका छन् । बजारमा सिटामोलको अभाव भएको भन्दै जनगुनासो बढेपछि काभ्रे प्रशासनले औषधी पसलको अनुगमन गरेको थियो ।
अनुगमनमा काभ्रेमा सिटामोलको अभाव नभएको पाइएको सहायक सिडिओ सुनुवारले बताए । आज (आइतबार) काभ्रेको व्यापारिक नगर बनेपाका औषधी पसलमा अनुगमन गरिएको थियो । बनेपाका १४ वटा मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएकोमा सिटामोलको अभाव नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए । उनका अनुसार जिल्लामा अहिले ८८ हजार ट्याब्लेट सिटामोल मौजाद रहेको छ ।
‘अनुगमन गरिएका पसलहरुमध्ये अधिकांशमा सिटामोलको अभाव भएको देखिदैँन,’ उनले भने, ‘ १/२ वटामा थोरै मात्रामा भेटिए । हिजो शनिबार भएकाले केही पसलमा कम भएको औषधी पसल सञ्चालकले बताएका छन् । उनीहरुले औषधी ल्याउने तयारी भइरहेको बताएका छन् । ’ काभ्रेका अन्य बजार क्षेत्रका औषधी पसलहरुको अनुगमन कार्यलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाई, प्रहरी प्रशासन, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरेका थिए ।