आहा रारा गोल्डकप फुटबल प्रतियोगिता : मछिन्द्र र एपीएफबीच प्रतिस्पर्धा

पोखरा : पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४-१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।