मेस्सी अचानक पुगे स्पेन, फेरी फर्किएला बार्सिलोना ?
फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लिओनल मेस्सी अचानक स्पेन पुगेका छन् । हिजो राति उनी स्पेनको बार्सिलोना सहरमा देखा परेका हुन् । केही महिना अघि मात्र बार्सिलोनाबाट रुँदै बिदा भएका मेस्सी क्लब छाडेपछि दोस्रोपटक बार्सिलोना पुगेका हुन् । यसअघि उनी उपचारका लागि बार्सिलोना पुगेका थिए ।
यसपटक उनी कुनै विशेष प्रयोजनका लागि नभई बार्सिलोनाका प्रशिक्षक तथा पूर्वसहकर्मी जाभीको जन्मदिन मनाउन मेस्सी स्पेन पुगेका हुन् । हिजो जनवरी २५ मा जाभीको ४२औं जन्मदिनको अवसरमा मेस्सी उनलाई शुभकामना दिन र भेटघाट गर्न पेरिसबाट निजी विमान चढेर बार्सिलोना पुगेको स्पेनिस मिडियाले जनाएका छन् ।
बार्सिलोनास्थित एक रेस्टुरेन्टमा जाभीले मेस्सीलाई जन्मदिनको पार्टी दिएको रिपोर्टमा बताइएको छ ।रेस्टुरेन्टमा मेस्सीले प्रशिक्षक जाभी, टोलीका कप्तान सर्जियो बुस्केट्स, जेरार्ड पिके लगायतसँग भेट गरेका थिए ।
बार्सिलोनाको नयाँ प्रशिक्षकमा जाभी आएपछि मेस्सी बार्सिलोना फर्किन सक्ने चर्चालाई यो भेटले थप बल पुराएको स्पेनिस मिडियाले जनाएका छन् । जाभीको जन्मदिनको बहानमा मेस्सी र जाभीले निकट भविष्यमा पुनः सहकार्य गर्न सकिने सम्भावनाबारे ‘फेस टु फेस’ गम्भीर छलफल भएको ‘मार्का’ले जनाएको छ ।
कप्तान सर्जियो बुस्केट्स र जाभीसँग मेस्सीको सम्बन्ध अहिले पनि निकै राम्रो छ । जाभी मेस्सीलाई बार्सिलोना फर्काएर आफ्नो कमान्डमा खेलाडीकै रूपमा खेलाउन चाहन्छन् ।
गत राति जाभी र कप्तान बुस्केट्सँगको विशेष भेटघाटले यो सम्भावनालाई थप सम्भावित बनाएको छ । स्पेनिस मिडियाले मेस्सी केवल जाभीको जन्मदिन मनाउनका लागि मात्रै बार्सिलोना नआएको भन्दै उनको आकस्मिक यात्रालाई बार्सिलोना फर्किनका लागि वातावरण बनाउन लागेको खबर बाहिरिएको छ ।
मेस्सीले पिएसजीमा दुई वर्षका लागि सम्झौता गरेका छन् ।