विषाक्त मदिरा पिउँदा पाँच जनाको मृत्यु
बिहिबार, माघ १३, २०७८ | १३:५०:३०
भारतको बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यसैगरी चार जनाको अवस्था गम्भीर रहेको छ । चारैजनाको अस्पतालमा उपचार भइरहेको छ । यो घटना बक्सर जिल्लाको अन्सारी गाउँको हो ।
बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो ।
यस वर्षको सुरुमा मुख्यमन्त्रीको गृहजिल्ला (नालन्दा) पछि छपरा जिल्लामा पनि विषाक्त मदिराको सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । प्रतिपक्षले निषेधाज्ञाको विषयलाई लिएर सरकारमाथि लगातार आक्रोश पोख्दै आइरहेको छ । प्रतिपक्षीले मदिरामा प्रतिबन्ध लगाउँदा पनि मदिरा पाएकोमा प्रश्न उठाउँदै आएका छन्।