
काभ्रे : काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज ई–पासपोर्ट सेवाको शुभारम्भ गरेकी हुन् ।
कार्यालयबाट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)बाट सेवा हुदैँ आएकोमा अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बाट सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सिडिओ अमर दीप सुनुवारले जानकारी दिए । ई–पासपोर्टको प्रक्रिया बारे सहायक सिडिओ सुनुवारले भने, ‘बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य चाहिन्छ । किनभने त्यो कार्डमा जुन विवरणहरू प्रयोग भएको हुन्छ त्यसको प्रमाणिकरण ई–पासपोर्टमा हुन्छ।’
त्यसो गरिँदा सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले पासपोर्ट लिन नसक्ने र नक्कली काम नहुने र एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको उनले बताए। सरकारले काठमाडौंस्थित राहदानी विभागबाट मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।