धुलिखेलका दिल बहादुर र सुमन प्रहरी नियन्त्रणमा

काभ्रे : विभिन्न मुद्धामा फरार रहेका काभ्रे धुलिखेलका दुई प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी र सार्वजनिक अपराध गरी २ वटा मुद्धामा फरार रहेका धुलिखेल नगरपालिका वडा नं २ रविओपीका मिलन भन्ने दिल बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनलाई प्रहरीले आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ माघ ८ गते चोरी मुद्धामा ३ कैद र १३ हजार रुपैँया जरिवानाको सजाय सुनाएको थियो भने २०७२ माघ २ गते सार्वजनिक अपराध मुद्धामा १ हजार रुपैँया जरिवानाको सजाय अदालतले फैसाला गरेको थियो ।
अदालतको फैसलापश्चात फरार रहेका दिल बहादुरलाई प्रहरीले आज बनेपा नगरपालिका वडा नं १० बाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी खतिवडाले बताए। पक्राउ परेका उनलाई फैसला कार्यन्वयनको लागि आज जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै जालसाजी मुद्धामा फरार रहेका धुलिखेल नगरपालिका वडा नं ६ चोच्छेटोलका सुमन कर्मचार्यलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जालसाजी मुद्धामा फरार रहेका समुनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ पुस २३ गते १० हजार रुपैँया जरिवाना सजाय फैसला गरेको कार्यालयका सूचना अधिकारी खतिवडाले बताए ।
उनका अनुसार अदालतको फैसलापश्चात फरार रहेका सुमनलाई प्रहरीले आज बनेपा नगरपालिका वडा नं ७बाट पक्राउ गरेको हो । पक्राउ परेका सुमनलाई फैसला कार्यन्वयनको लागि आज जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरिएको प्रहरीले जनाएको छ ।