हिमपातका कारण बेथानचोकमा जनजीवन कष्टकर : यातायात, विद्युत र संचार सेवा अवरुद्ध
काभ्रे :भारी हिमपातका कारण काभ्रेको बेथानचोकमा जनजीवन कष्टकर भएको छ । हिजो बिहानदेखि सुरु भएको हिमपातका कारण यस क्षेत्रको उच्च पहाडी भेगको जनजीवन कष्टकर भएको पर्यटन व्यवसायी कमल प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार निरन्तर २४ घण्टा भएको भारी हिमपातका कारण यस क्षेत्रमा यातायात, विद्युत र संचार (इन्टरनेट) सेवा अवरुद्ध भएको छ । त्यस्तै भारी हिमपातले गर्दा यस क्षेत्रका आधुनिक कृषि टनेलमा पनि क्षति पुगेको उनले जानकारी दिए । गाउँपालिकाको बजार र बस्ती क्षेत्रमा अहिले हिमपात रोकिए पनि उच्च पहाडी क्षेत्रमा अहिले पनि हिमपात जारी भएको उनले बताए । उच्च पहाडी क्षेत्रमा हिउँले जङ्गलका रुखका हाँगाहरु भाँचिएका छन् ।
हिउँले बेथानचोक डाँडा सेताम्मै देखिएका छन् । उक्त दृश्य अवलोकन गर्न र हिउँ खेल्न पर्यटकहरु उत्साहित भएका छन् । उक्त क्षेत्रमा हिमपात भएको र हिमपातका कारण यातायातको सेवा अवरुद्ध हुनुको साथै जंगलका रुखका हाँगाहरु भाँचिएकाले निकै जोखिम भएको पर्यटन व्यवसायी नेपालले बताए । त्यसकारण अहिले यस क्षेत्रमा यात्रा नगर्न पर्यटकहरुलाई उनले सुझाव दिएका छन् । उनका अनुसार यहाँको बजार क्षेत्रमा पनि बाक्लै हिउँ बाँकी रहेकाले पर्यटकहरु त्यहाँ रमाउन सक्नुहुनेछ ।
तस्बिर सौजन्य : कमल प्रसाद नेपाल