मानेको जीवनकै सबैभन्दा ठूलो उपलब्धी
सेनेगलले भर्खरै अफ्रिकी कप अफ नेसन्स जितेको छ र यसका कप्तान साडियो मानेलाई लाग्छ, यो उनको खेल जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो ।प्रतियोगिताको फाइनल टाइब्रेकरमा गएको थियो र त्यसमा सेनेगली टिमका कप्तान समेत रहेका मानेले निर्णायक गोल गरे ।
यो गोल किन पनि स्वादिलो रह्यो भने यिनै लिभरपुल खेलाडी यस अगाडि निर्धारित समयमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेका थिए । फेरि सेनेगल त्यस्तो टिम थियो, जसले यस अगाडिका दुई अफ्रिकी कप अफ नेसन्सको फाइनलमा हार बेहोरेको थियो । त्यसमा पनि पछिल्ला संस्करणमा सेनेगल अल्जेरियाको हातबाट पराजित भएको थियो ।
माने भन्छन्, ‘फाइनल जितेको दिन मेरो पूरा जीवनकै सबैभन्दा खुसी अवसर रह्यो । मैले लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिग जितेको छुं । तर आजको उपाधि विशेष छ । त्यसैले म धेरै खुसी पनि छुं । यो खुसी मेरो मात्र होइन्, मेरो पूरा परिवार र सेनेगली जनताको पनि हो ।’
सेनेगली टिम सोमबार नै स्वदेश फर्किसकेको छ र पूरा टिमलाई त्यहाँ भब्य स्वागत गरिएको छ । राजधानी डकारमा टिमले उपाधि जितेपछि खुसीयाली मनाउन हजारौं सडकमा ओर्लेका थिए । सेनेगली सरकारले पनि टिमले चुमेको सफलतामा खुसीयाली मनाउन सोमबार राष्ट्रिय विदाको घोषणा समेत गरेको थियो ।