ग्रिन हाइड्रोजन उत्पदानका लागि त्रि–पक्षीय सम्झौता
काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाले ग्रिन सिटी सहर निर्माणको अवधारणा बोकेको छ । उक्त अवधारणा निर्माणका लागि नगरपालिकाले थुप्रै अभ्यासहरु गर्दै आएको छ । त्यस्तै ग्रिन सिटी सहरका लागि हरित हाइड्रोजन सम्बन्धि त्रि–पक्षीय सम्झौता भएको छ ।
उक्त अवधारणा अन्र्तगत धुलिखेल नगरपालिका, काठमाडौँ विश्व विद्यालय र रोटरी क्लब अफ धुलिखेलबिच आज त्रि–पक्षीय सम्झौता भएको छ । मुख्य दुई बुँदामा केन्द्रित भएर त्रि–पक्षीय सम्झौता भएको हो । उक्त सम्झौतमा हरित हाइड्रोजन कार्यक्रम अन्र्तगत नेपालको पानी र नेपालको बिजुली प्रयोग गरेर हाइड्रोजन ग्यास निकालेर यातायातमा इन्धन प्रयोग गर्न मिल्ने बनाइनेछ । धुलिखेलेदेखि काठमाडौँको रुटमा दुई वटा बसमा हाइड्रोजनबाट चल्ने इन्धन बनाइने छ । डिजेल तथा पेट्रोललाई बिस्थापित गर्दै हाइड्रोजनलाई प्रयोगमा ल्याउने अभ्यासका लागि त्रि–पक्षीय सम्झौता भएको हो ।
त्यस्त ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन भान्सामा प्रयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेल बिच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । बुधवार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ विभागका डिन प्रो.डा मनिष पोखरेल र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा आगामी पाँच वर्ष हाइड्रोजनको माध्यमबाट सञ्चालन गर्ने गरी दुई वटा बस धुलिखेलबाट काठमाडौँसम्म सञ्चालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्याँसलाई विस्थापित गरी हाइड्रोजन ग्याँस प्रयोग गर्ने उल्लेख छ । त्यसका लागि नगरपालिकाले नीति तथा कानुन निर्माण गर्ने, रोटरी क्लबले आर्थिक संयोजन र विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।